राष्ट्रिय मानव अधिकार प्रतिष्ठान
पॉचौे केन्द्रीय परिषद् बैठक सम्पन्न
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको पॉचौे केन्द्रीय परिषद् बैठक (वार्षिक साधारणसभा) आज मिति २०८३ असोज १० गते काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकबाट आ.व. २०८२/०८३ को वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन/लेखापरीक्षण प्रतिवेदन र आगामी आ.व.२०८३/८४ का लागि अनुमानित बजेट र कार्यक्रम पारित गरिएको छ । आ.व. २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने अख्तियारी केन्द्रीय कार्यसमितिलाई प्रत्यायोजन गरिएको छ ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ भाद्र १० गते बिहान आकस्मिक रूपमा आएको भीषण विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका तटीय क्षेत्रहरूमा अपूरणीय र अकल्पनीय मानवीय तथा भौतिक क्षति हुन पुग्यो । विपत्तिमा परी ज्यान गुमाउनु भएकाहरूप्रति प्रतिष्ठान हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिको समयमा सिङ्गो मुलुक एकढिक्का हुन प्रतिष्ठान अपिल गर्दछ ।
साथै, प्रतिष्ठानका सामाजिक कार्यक्रम, अभियान, सफलतापूर्वक सम्पन्न गर्न, गराउॅन विभिन्न माध्यमबाट महत्तवपूर्ण सहयोग, योगदान गर्नुहुने प्रतिष्ठानका संस्थापक, मानार्थ, आजीवन, सक्रिय सदस्यहरू, केन्द्रीय कार्यसमिति, सल्लाहकार, केन्द्रीय परिषद, प्रदेश तथा शाखा समिति, सहयोगी, शुभचिन्तक, कर्मचारी,स्वयंसेवकहरू लगायत सबैमा प्रतिष्ठान हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछ ।
परिषद बैठकमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल, उपाध्यक्ष लक्ष्मण नाथ उप्रेती, महासचिव घमान तामाङ, केन्द्रीय सदस्य अनुराधा जोशी, केन्द्रीय सदस्य नवराज न्यौपाने (टि.एन), केन्द्रीय सदस्य राधाकृष्ण भण्डारी, सल्लाहकार हरिचन्द्र भट्टराई, केन्द्रीय परिषद सदस्य इन्दिरा चुडाल खरेल, केन्द्रीय सदस्य एवं बौद्ध शाखा अध्यक्ष पासाङ तामाङ, बौद्ध शाखा सचिव एवं परिषद सदस्य सार्की शेर्पा, परिषद सदस्य कुमारी बॉठा मगर लगायतले मुलुकको वर्तमान अवस्था र मानव अधिकारको विविध पक्षमा विचार राख्नु भएको थियो ।










